काठमाडौँ, १२ असोज : प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिक संस्थाका माध्यमबाट टोलटोलमा सूचनाको हकका बारेमा बहस हुनुपर्ने बताउनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रथम राष्ट्रिय सम्मेलन एवं तेस्रो साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गनुहुँदै उहाँले नागरिक संस्थामा आवद्ध अभियानकर्मीले अवैतनिक अनुगमनकर्ताका रूपमा टोलटोलमा सूचनाको हक स्थापित गर्न काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सूचना आयोगमा आफ्नो तीन वर्षे कार्यकालका अवधिमा १९ वटा कार्यालयका प्रमुखलाई सूचना नदिएकाले कारबाही गरिएको कार्यक्रममा प्रमुख आयुक्त गुरुङले सुनाउनुभयो । त्यसअघिका दुई कार्यकालमा १८ कार्यालय प्रमुख गरी हालसम्म ३७ जना कार्यालय प्रमुखलाई सूचना नदिएकामा कारबाही गरिएको उहाँले जानकारी गराउनुभयो ।
हासङ्घको आज सम्पन्न हुने महाधिवेशन तीन वर्षे कार्यकालका लागि २७ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताउनुभयो । महासङ्घले बिहीबार सम्मेलन गरी आज महाधिवेशन गरेको हो ।