उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

समाचार स्वास्थ्य/शिक्षा

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो । डेढ महीना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु विस्तारै फैलँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताउनुभयो ।
पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । यसरी डेङ्गुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु
सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । पहिलो वर्ष रम्भा गाउँपालिका–१ को हुँगी, ५ को ताहुँ र ३ को पिपलडाँडाबाट ल्याब सेवा शुरुआत गरिएको थियो । दोस्रो वर्ष वडा नं २ को फोक्सिङकोट र ४ को यसै आर्थिक वर्षको साउन २९ गते हुमिनमा ल्याब सेवा शुरु गरेपछि गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
“गाउँपालिकाले ल्याब सेवा पुनःसञ्चालन गर्नका लागि कर्मचारी तथा आवश्यक पर्ने सामग्रीको पूरै प्रबन्ध गरेको छ, अब प्रसूति, गर्भपतन र ल्याब परीक्षण सेवाका लागि अन्यत्र बिरामी भौतारिनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । गाउँपालिकामा ल्याब सेवा नहँुदा बिरामीलाई सदरमुकाम तानसेन र स्याङ्जाको गल्याङलगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यसै आवदेखि गाउँपालिकाले ल्याब परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाको वडा नं १ मा हुँगी स्वास्थ्यचौकी, वडा नं २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।
ल्याब सेवाको शुरुआत भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताउनुभयो । “ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्, यो कार्यक्रमले गरीब, विपन्न व्यक्तिलाई ठूलो राहत पुगेको छ”, उहाँले भन्नुभयो ।
यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा रु १०० देखि ५०० सम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य रहेका थिए । अब भने गाउँमै निःशुल्क ल्याब परीक्षण गराएर उपचार सेवा पाएपछि उत्साहित भएका छन् ।

Facebook Comments Box