भानुभक्त आचार्य जन्मजयन्तीमा उहाँकै रचना वाचन

समाचार साहित्य

काठमाडौँ, २९ असारः आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसै अवसरमा अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यका रचना वाचन कार्यक्रम गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दै आएको समाजले आज दुई सय ६९औँ साहित्यिक शृङ्खला गरेको थियो । यस शृङ्खलालाई भानुभक्तको जन्मजयन्ती केन्द्रीत गरिएको थियो । कार्यक्रममा साहित्यकार टङ्क केसीले भानुभक्तको जीवनी, कृतित्व र व्यक्तित्वका बारेमा प्रकाश पार्नुभयो ।

समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यले पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । लोक साहित्य विशेष नाम दिइएको कार्यक्रममा ४५ जना कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो ।

भानुजयन्तीकै अवसरमा तारकेश्वर सामुदायिक विद्यालय समितिले शिक्षक र विद्यार्थीको अलगअलग कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेको साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिनुभयो ।

Facebook Comments Box