गुह्येश्वरी जात्राका लागि तलेजु भवानी पशुपति क्षेत्र पु-याइयो

समाचार

काठमाडौँ, ९ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति गुह्येश्वरी पु-याइएको छ ।

गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रुपमा पूजिने पुजारी जैन कर्माचार्यले बताउनुभयो । मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट पूरा गरिन्छ । आज रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइन्छ । मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिन्छ । दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुह्येश्वरी भनी मान्ने गरेको पाइन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताउनुभयो । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । जात्रा सकिएसँगै सोमबार बेलुकी ६ बजे यो लिङ्गो ढाल्ने परम्परा छ । जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण वमी र दशमीमा हनुनमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ ।

रातभर गुप्ति पूजाको प्रक्रिया सकेपछि सोमबार बिहान ११ बजे विशेष पूजा गरी खटलाई यात्राको अनुमति दिइने समितिले जनाएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइन्छ ।

क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ । पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने परम्परा रही आएको छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्णपाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ । आज यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ ।

Facebook Comments Box