काठमाडौँ, २९ मङ्सिर : योगी नरहरिनाथको स्मृतिमा प्रकाशन गरिएको अभिनन्दन ग्रन्थको दोस्रो संस्करण लोकार्पण गरिएको छ ।
सिद्ध धर्म सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरी, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलगायतले उक्त ग्रन्थको दोस्रो संस्करणको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । एक हजार ५४ पृष्ठको ग्रन्थ संस्कृतिविद् डा गोविन्द टण्डन, डा चिन्तामणि योगीलगायतले सम्पादन गर्नुभएको हो ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति साहले योगी नरहरिनाथले नेपालको राष्ट्रिय पहिचान, गौरवमय इतिहास, परम्परा र संस्कृतिको संरक्षणमा पु-याउनुभएको योगदानको स्मरण गर्नुभयो ।
संस्कृतिविद् डा टण्डनले योगी नरहरिनाथको जीवनकालमै २०५४ सालमा पहिलोपटक एक सय ४६ जना लेखकको लेख सङ्कलन गरी पहिलोपटक अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको जानकारी दिनुभयो ।
—