सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

प्रशासन समाचार

जलेश्वर, १० पुसः भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ ।

सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिइ सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताउनुभयो ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपाल–भारत सीमा क्षेत्रमा मदिराको अवैध कारोबार बढेको स्थानीयको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन थालेको हो ।

सीमा क्षेत्रका मटिहानी,पर्सा पतैली,मलिवाडा भिठामोड, थरुवाही, नैन्ही, मरुवाही, बथनाहा, सम्सी, रघुनाथपुर, कटीकटैयामा स्थानीय प्रशासनले अब निरन्तर अनुगमन गर्ने जनाइएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बल, राष्ट्रिय अनुसन्धान विभाग, करदाता सेवा कार्यालयका अधिकारीहरू हुनुहुन्थ्यो ।

Facebook Comments Box