गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : मन्त्री भट्टराई

समाचार

लेखनाथ (कास्की), १७ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा राजनीति हाबी हुँदा शिक्षाको गुणस्तरीयता खस्केको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशको प्रथम प्रदेश परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै मन्त्री भट्टराईले राजनीतिक दलहरुले सार्वजनिक विद्यालयका शिक्षकलाई प्रयोग गर्दा सार्वजनिक शिक्षामा सुधार आउन नसकेको गुनासो गर्नुभयो । उहाँले छिट्टै शिक्षा विधेयक ऐन ल्याउने तयारी भइरहेको बताउनुभयो ।

शिक्षा विधेयक ल्याउन सार्वजनिक विद्यालयका शिक्षकको सहयोगको खाँचो रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यसबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो । “शिक्षा विधेयक सकेसम्म यही हिउँदे अधिवेशनमा पेश गर्ने तयारीमा छौ”, उहाँले भन्नुभयो । सार्वजनिक विद्यालयको भौतिक संरचना विस्तार गरिए पनि विद्यार्थी सङ्ख्या घट्दै जाँदा समस्या भएको उहाँको भनाइ थियो ।

Facebook Comments Box