निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुँदै

समाचार स्वास्थ्य/शिक्षा

पाटन( बैतडी) ९ फागुन : परिवार व्यवस्थापन अन्तर्गत सन्तानको रहर पुगिसकेका दम्पतीहरूका लागि निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । एमएसआई /सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले यही फागुन ११ गतेदेखि २७ गते शिविर सञ्चालन हुने बताउनुभयो । महिलाहरूको स्थायी बन्ध्याकरण ‘मिनिल्याप’ र पुरूषहरूको स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गरिने उहाँले जानकारी दिनुभयो ।

परिवार नियोजनको अस्थायी साधान पाँच बर्षका लागि ‘इम्पलान्ट’ र १० बर्षका लागि ‘आइयुसिडी’ समेत राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गर्ने र सन्तानको रहर पुगिसकेका दम्पत्तीहरूले शिविरबाट सेवा लिनसक्ने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन ११ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने फागुन १३ गते पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा, फागुन १५ गते पुर्चौंडीकै कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

साथै फागुन १७ गते शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्र, फागुन १८ गते पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्यचौकी, फागुन २० गते मेलौली नगरपालिकाको सलेना स्वास्थ्यचौकी र फागुन २१ गते पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविरको आयोजना गरिने बताइएको छ ।

यस्तै फागुन २२ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागनु २३ गते सुर्नयाकै वासुलिङ्ग स्वास्थ्यचौकी, फागुन २४ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २५ गते दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्यचौकी र फागुन २७ गते डिलाशैनी गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो जनसङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत मात्र छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८ रहेको छ भने अझै प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् ।

Facebook Comments Box