देवीस्थान स्वास्थ्य चौकीको भवन निर्माण

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं, २३ असोज । मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको रु एक करोड ६० लाखको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।
भवनको पूर्वाधार निर्माण गरेर एकाइमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको निर्माण कम्पनी भगवती मालिका निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले बताउनुभयो । २०७३ देखि भवन निर्माण शुरु भएको थियो । १९ वटा कोठा भएको भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डारण, श्यया रहने छुट्टा÷छुट्टै कक्ष छन् । नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो । यसअघि स्वास्थ्य चौकी मगरदाङस्थित पुरानो भवनबाट सञ्चालन गरिएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । एकाइले एक वर्षयता मालिका गाउँपालिका–४ च्युरीबोट, अन्नपूर्ण गाउँपालिका–८ राम्चे, ६ घार, रघुगङ्गा गाउँपालिका–३ पिप्ले र मङ्गला गाउँपालिका–३ बरञ्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको छ ।
कुहुँ, हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकीको भवन निर्माणाधीन छन् । सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई वटा चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माण भएको छ ।

Facebook Comments Box