बुटवल, १३ असोज | पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’मा आज साहित्यकारबीच अन्तक्र्रिया गरिएको छ ।
साहित्य क्षेत्रका विभिन्न व्यक्तिले पुस्तकका बारेमा चर्चा गरेका थिए । अप्रिल फुल पुस्तकमा लेखकले सरल भाषा प्रयोग गरेको र अहिलेको सामाजिक अवस्थाको चित्रण गरेको बताएका थिए ।
आचार्यको पहिलो कृतिको समीक्षा गर्दै गजलकार बाबु त्रिपाठीले अप्रिल फुल पुस्तकमा सामाजिक यथार्थ र प्रेम समेटिएको बताउनुभयो ।
बुटवलका युवा साहित्यकार गिरी श्रीष मगरले उपन्यासमा प्रयोग भएको भाषा सरल रहेको भन्दै उपन्यासका बारेमा चर्चा गर्नुभयो । साहित्यकार राजेन्द्र आचार्यले उपन्यास युवा पुस्ता, प्रेम प्रसङ्गमा केन्द्रित रहेर शुरुआत भएको भन्दै शुरुआत राम्रो रहेको बताउनुभयो ।
पुस्तकका लेखक आचार्यले पुस्तक सिर्जना गर्दाका अनुभवदेखि पुस्तकमा समेटिएका विषयबारे जानकारी गराउनुभयो । उहाँले कथा लेखनबाट शुरु भएको कृतिले उपन्यासको रुप लिएको भन्दै यसमा समाजका यथार्थ अवस्थाका बारेमा उल्लेख गरिएको बताउनुभयो ।