–विमलबहादुर विष्ट /काठमाडौं,१३असार।
डोटी जिल्लामा रहेका नौवटै स्थानीय तहले आफ्ना नागरिकलाई घरैमा उपचार सेवा दिने व्यवस्था मिलाएका छन् । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, केआइसिंह, पूर्वीचौकी, सायल, आदर्श, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाले आफ्ना पालिकामा रहेका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र दीर्घरोगीलाई छुट्टै स्वास्थ्य टोली परिचालन गरी एक महिना यतादेखि घरैमा निःशुल्क उपचार सेवा दिन थालेका छन् । कोरोना भारइरस सङ्क्रमणको त्रासका कारण स्वास्थ्य संस्थामा आएर आफ्नो स्वास्थ्य उपचार गराउन नसकेका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र दीर्घरोगीलाई छुट्टै स्वास्थ्य टोली परिचालन गरी घरैमा उपचार सेवा दिन थालेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनमा उपचार गर्न नसकेर समस्यामा परेका नागरिकको सेवाका लागि हामी सबै स्थानीय तहले एक महिनादेखि घरैमा स्वास्थ्य टोली परिचालन गरी निःशुल्क उपचार सेवा गर्दै आएका छौँ, जसले गर्दा महिला र दीर्घरोगका बिरामीलाई निकै राहत पुगेको छ ।” स्थानीय तहले गाउँमा भएका ज्येष्ठ नागरिक र गर्भवती आमालाई घरैमा स्वास्थ्य जाँचसहित औषधि उपलब्ध गराउने व्यवस्था मिलाएपछि विभिन्न रोगबाट ग्रसित यहाँका नागरिकले घरैमा सेवा पाउन थालेको सायल गाउँपालिका–१ का तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले उपचार गर्न नपाएर गाउँमा रहेका दीर्घरोगी र गर्भवती आमालाई निकै समस्या थियो, गाउँपालिकाका स्वास्थ्यकर्मीले घरैमा उपचार गर्न थालेपछि निकै सहज भएको छ ।” गर्भवती आमा र ज्येष्ठ नागरिकले घरैमा स्वास्थ्य जाँच पाउन थालेपछि अहिले यहाँका गाउँपालिकामा रहेका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरु निकै खुशी भएका छन् । यहाँका स्थानीय तहले संयुक्त रुपमा निर्णय गरी स्वास्थ्यकर्मीहरुलाई गाउँगाउँमा खटाएर गाउँमा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्था, शरीरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन एक थान पोर्टेबल भिडियो एक्स–रे मेशिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । जिल्लाका अन्य पालिकाका स्वास्थ्यकर्मीसहित आफ्नो पालिकामा रहेका स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँगाउँमा गएर ज्येष्ठ नागरिकको अवस्था र गर्भवती महिला तथा गर्भमा रहेका बच्चाको स्वास्थ्य जाँच गर्न थालेको केआइसिंह गाउँपालिकास्थित दुर्गामाडौँ स्वास्थ्यचौकीका अनमी गीता भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिक र गर्भ जाँच गर्न नसक्ने अवस्थाका गर्भवती महिलालाई हामीले घरैमा गएर स्वास्थ्य जाँच गर्न थालेका छौँ, जसले गर्दा ज्येष्ठ नागरिक र गर्भमा भएको बच्चाको अवस्थाका बारेमा सजिलैसँग बुझ्न सकिएको छ ।” यहाँका स्वास्थ्यकर्मीले तालिका बनाएर प्रत्येक महिना उपकरण, भिडियो एक्स–रे मेशिनसहित तालीम प्राप्त एकजना अहेब र एकजना अनमी पुग्ने र वडामै उनीहरुको स्वास्थ्य जाँच गर्ने गरी स्वास्थ्यकर्मीलाई औषधिसहितको व्यवस्था गरिएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तालीम प्राप्त स्वास्थ्यकर्मीको टोली पठाएर ज्येष्ठ नागरिक र गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न थालेका छौँ, स्वास्थ्य उपचार र गर्भ जाँच गर्नकै लागि अब जिल्ला अस्पताल सिलगढी तथा दिपायल जानुपर्ने अवस्था बन्द भएको छ ।” ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको बच्चाको अवस्थाका बारेमा समयमै जानकारी नहुँदा यहाँका ज्येष्ठ नागरिक तथा कतिपय गर्भवती महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय तहले उक्त अभियानको थालनी गरेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक र गर्भवती महिला तथा पेटमा भएको बच्चाका बारेमा अहिले घरैमा गएर स्वास्थ्यकर्मीले जाँच गर्न थालेपछि ज्येष्ठ नागरिक र गर्भवती महिलाले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन थालेका छन्, जो आफँैमा राम्रो काम हो ।” यहाँका नौवटै स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्यचौकीका अहेब, हेल्थ असिस्टेन्ट तथा अनमीलाई स्वास्थ्य चेकजाँचका लागि विभिन्न उपकरण तथा भिडियो एक्स–रेसम्बन्धी तालीम दिएर भिडियो एक्स–रे मेशिन खरिद गरी उपचारमा खटाएका हुन् । स्वास्थ्यकर्मीहरु पालिकाले उपलब्ध गराएको झोलामा स्वास्थ्य उपकरण, औषधि तथा भिडियो एक्स–रे मेशिन बोकेर गाउँगाउँमा उपचारका लागि गइरहेको जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्दबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको घरैमा उपचार कार्यक्रमले लकडाउनका कारण उपचार गर्न नसकेका ज्येष्ठ नागरिक र खतरामा परेका गर्भवतीलाई तत्काल राम्रो अस्पतालमा पठाउन सहज भएको छ ।” यहाँका पालिकाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि सबै पालिकामा अहिलेसम्म भिडियो एक्स–रे मेशिन नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । –––
Facebook Comments Box