काठमाडौँ, २१ असोज | पछिल्लो समय छन्दमा कविता लेख्ने प्रचलन हराउँदै गएका बेला ‘छन्द–तरङ्गको दोस्रो शृङ्खलाका सहभागीले नयाँ पुस्तालाई उक्त विधातर्फ आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय छन्दमा कविता लेख्ने प्रचलन हराएको र धेरैजसो स्रष्टा प्रयोगका नाममा अन्य ढाँचामा मात्रै कविता लेख्न थालेको भन्दै नयाँ पुस्तालाई आकर्षित गर्ने, सीप र कौशलले दक्ष बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
लेखन कुञ्जले यहाँ आयोजना गरेको कार्यक्रममा कविता विधाको विशिष्ठ विधि छन्द सिर्जनाको स्तरोन्नति, संरक्षणका साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइयो । कार्यक्रममा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखीमाझ प्रस्तुत गर्दै नवप्रतिभाको खोजीमा जोड दिनुभयो ।
कार्यक्रमका संयोजकद्वय डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मूर्तरुप प्रदान गर्दै हरेक महीना तीन जना प्रतिनिधि कविका प्रतिनिधि कविता प्रस्तुत गर्ने लक्ष्यका साथ छन्द तरङ्ग मासिक शृङ्खला थालनी गरिएको बताउनुभयो ।
छन्द कविताका अभियन्ता डा नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै त्यसको मानकीकरणका लागि हरेक महीनास्तरीय कविता सम्प्रेषण गर्दै जाने, वार्षिक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कारसमेत प्रदान गर्ने काम अगाडि बढेको जानकारी दिनुभयो ।
अर्का संयोजक डा ज्ञवालीले आफूहरुले शुरु गरको अभियानले औपचारिक उचाइ प्राप्त गरेको र नयाँ पुस्तासमेत छन्द जागरण अभियानमा सर्मपित भएको बताउनुभयो । लेखन कुञ्जका अध्यक्ष कमल ढकालले ऐतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।