खोटाङको ऐंसेलुखर्क गाउँपालिकाभित्र अत्यावश्यक वाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ । महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने कुरालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र अत्यावश्यक र विशेष परिस्थितिमा वाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
सोमबार गाउँपालिकामा बैठकबसी भदौ १५ गतेदेखी भदौ ३० गतेसम्म अत्यावश्यक र विशेष परिस्थिति बाहेक सवै कार्यालय, व्यापार/व्याबसाय, बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यले जानकारी दिए । साथै, गाउँपालिकाबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा पनि रोक लगाउने निर्णय भएको छ ।
गाउँपालिकाबाट सम्झौता भई कार्यान्वयन भइरहेका आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दा गाउँपालिकाबाट स्वीकृति लिनुपर्ने तथा १८ भदौसम्म खाद्यान्न खरिद र बैंक तथा वित्तिय संस्थाबाट दुरी कायम गरेर अति आवश्यक काम गर्न/गराउन पाउने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्न गाउँपालिकाको निर्णय कार्यान्वयन गरी सहयोग पु¥याउन सरोकारवाला कार्यालय, संघसंस्था, नागरिक समाज सवैमा अनुरोध गरेको छ ।
हालसम्म जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएपछि विभिन्न समयमा संक्रमित भएका १९ जना फरक–फरक समयमा कोरोना संक्रमण जितेर डिस्चार्ज भइसकेका छन् । साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भई क्वारेन्टिनमा बसेका एकजना प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । ९ भदौमा कोरोना संक्रमित भएका ति प्रहरी जवान जिल्ला अस्पताल खोटाङको आइसोलेसनमा उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले जानकारी दिए ।
जिल्लाबाट १ हजार ३७६ जनाको स्वाव संकलन गरी पिसीआर परिक्षण गर्दा हालसम्म २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।