उर्लाबारी, ९ कात्तिक । सिंहदरबारका अधिकार गाउँगाउँमा आए पनि जनताले अनुभूति गर्ने गरी काम हुन नसकेको गुनासो व्यक्त गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ क्षेत्र नं. १ द्वारा यहाँ आज आयोजित ‘जनप्रतिनिधिसँगको छलफल’ कार्यक्रमका सहभागीले सो गुनासो व्यक्त गरिएको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले जनतालाई विकासको अनुभूति दिलाउने गरी काम गर्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा लाग्नुपर्नेमा जोड दिनुभयो ।
क्षेत्रको विकास निर्माण, भूमिहीन, सुकुम्वासी, लालपूर्जाको समस्या, नदी नियन्त्रणलगायत विषयमा आफू चिन्तित रहेको र प्रतिनिधिसभामा त्यसलाई समाधान गर्ने सवालमा जोडदार रुपमा आवाज उठाइरहेको बताउँदै उहाँले सांसद विकास कोषबाट आएको रकमको सही सदुपयोग गर्न सकेको खण्डमा लक्षित समुदायको उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य कुलप्रसाद साँवा लिम्बूले जनतालाई प्राथमिकतामा राखेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिदैं प्रदेश सरकारले छिट्टै ऐन कानून निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिइने सेवालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो ।