बारा, १३ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताउनुभएको छ ।
काङ्ग्रेस निजगढ नगर समितिले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अब पार्टीको विधानमा नै काङ्ग्रेस सभापतिको अधिकार कटौतीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नेता डा कोइरालाले शक्तिकै दम्भले गर्दा काङ्ग्रेसमा गुट–उपगुट जन्ँिमदा कार्यकर्ता दिक्क भएकाले यसको अन्त्य गर्ने प्रयासमा आफूले लागिपरेको बताउनुभयो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा जङ्गलका रूखबिरुवा कति सङ्ख्यामा काट्ने भन्ने सम्बन्धमा सरकारका मन्त्रीहरुकै अलग धारणा बाहिर आएको बताउँदै उहाँले रूख कटान गर्दा क्षति कम हुनुपर्ने धारण व्यक्त गर्नुभयो ।
काङ्ग्रेसका केन्द्रीय सदस्य रामचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाललगायतले काङ्ग्रेस पार्टीको सङ्गठन विस्तारका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।