काठमाडौं । आईओएम, च्यालेन्ज फर चेन्ज (सीएफसी) र एनएओ संस्थाको आयोजनामा त्रिमूर्ति सहशिक्षा विद्यालय बाँसबारी, महाराजगञ्ज, काठमाडौका शिक्षकहरुलाई आँखा सम्बन्धी सचेतनामूलक एकदिवसीय तालिम कार्याक्रम सञ्चालन भयो ।
उक्त एक दिवसीय कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका स्वास्थ्य कर्मचारी संघ नेपालका अध्यक्ष रामकुमार कार्की, आँखा विशेषज्ञ डाक्टर मधु थापा, दृष्टि विशेषज्ञ हिरानाथ दाहाल, डाक्टर मिलन रेग्मी, नर्सिङ्ग सुपरभाइजर सीता कँडेल र नर्स शिला गुरुङहरुले त्रिमूर्ति सहशिक्षा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आँखाको आन्तरिक बनावटका साथै आँखा सम्बन्धी विभिन्न रोगहरुका बारेमा जानकारी गराएका थिए । डाक्टर मधु थापाले आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा विशेष प्रशिक्षण दिएका थिए ।
त्यसैक्रममा दृष्टि विशेषज्ञ हिरा दाहालले विद्यार्थीहरुले कस्ता प्रकारका लक्षण र क्रियाकलाप देखाउँदा उनीहरुको आँखामा समस्या छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ भन्ने कुरा जानकारी गराएका थिए । उनले शरीरभित्र रहेका विभिन्न रोगहरुको पहिचान गर्न समेत आँखाको भूमिका रहने कुराको उजागर गरेका थिए । साथै आँखा शरीरको अभिन्न अङ्ग भएकोले त्यसको बचाउ र संरक्षणको लागि के–के उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रमबाट विद्यालयका शिक्षकहरु धेरै प्रभावित भएका र उक्त कार्यक्रमबाट हाँसिल गरेको ज्ञान आफू लागू गर्ने र विद्यार्थीहरुलाई पनि सचेत गराउने प्रतिवद्धता बताए । त्यस्ता कार्यक्रमले हामी हाम्रो समाज र विद्यालयमा ठूलो परिवर्तन ल्याउन सक्छ र सानो लापर्वाहीले गर्दा हाम्रा बालबच्चाहरु दृष्टिविहीन हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्दछ । त्यसमा अभिभावक र समुदायको भूमिका हुन्छ नै तर शिक्षकको सबैभन्दा ठूलो भूमिका रहन्छ भन्ने कुरा शिक्षक सुनिता गुरुङले बताउनु भयो । उक्त कार्यक्रम सो विद्यालयका शिक्षक हिमालयन बिक्रम देउवाले सञ्चालन गरेका थिए ।