बेदव्यास भूमिलाई पवित्र धामका रुपमा विकास गर्नुपर्छ : मन्त्री गुरुङ

राजनीति समाचार

दमौली, १८ कात्तिक । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा आज सहभागी हुँदै उहाँले बेदव्यास भूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले बेदव्यास भूमिको विकासका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै प्रदेशको नीति तथा कार्यक्रममा समेत यो क्षेत्रलाई समेटिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशअन्तर्गतका त्रिवेणी धाम, देवघाट धाम, मुक्तिनाथ धाम, गलेश्वर धाम लगायतलाई प्रदेश सरकारले विशेष चासोका साथ हेरिरहेको बताउँदै उहाँले गण्डकी प्रदेशबाटै धार्मिक, सांस्कृतिक विविधताको उत्पत्ति भएको हुँदा यसलाई सुन्दर समाज निर्माण गर्ने अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री गुरुङले व्यास गुफाकोसमेत अवलोकन गर्नुभयो । मन्त्री गुरुङलाई प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाले व्यास गुफा क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो ।

कात्तिक १ गतेदेखि शुरु भएको महामिलन पर्वमा भक्तजनको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । बेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाँझ चिनाउने उद्देश्यले आयोजित महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले महामिलन पर्वमा सहभागी हुन देश तथा विदेशबाट समेत भक्तजनको उपस्थिति रहने गरेको जानकारी दिनुभयो ।

पर्वका अवसरमा महर्षी बेदव्यासले रचना गरेको बेदका बारेमा समेत भक्तजनलाई जानकारी गराउने गरिएको छ । महामिलन पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी श्री शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Facebook Comments Box