कोभिड–१९ को दोस्रो लहरको असर देखिन थालेपछि सरकारले सुरक्षित रहन भन्दै धेरै मानिस जम्मा नहुन सार्वजनिक अपिल गरेको छ । तर, जोखिम बढाउने गरी भारतीय राजदूतावासअगाडि सयौँ भारतीय नागरिकहरू जम्मा भइरहेका छन् ।
खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले भारतीयहरूलाई नेपालको बाटो साउदीतर्फ जानका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेसँगै भारतीयहरू मंगलबारदेखि दूतावासअगाडि लाइन लागेका छन् । मंगलबार सयौँको संख्यामा भारतीयहरू अव्यवस्थित तरिकाले लाइन लाग्दा भिड थेग्न नसकेपछि प्रहरीले हस्तक्षेपसमेत गर्नुपरेको थियो ।
विमानस्थलबाट ‘नो अब्जेक्सन लेटर’ नभएको भन्दै आइतबार साउदी उड्न लागेका ६७ भारतीयहरूलाई फर्काइएको थियो । जजिरा एयरवेजमार्फत जान लागेका उनीहरूलाई विमानस्थलबाट फर्काइएको थियो । खाडी मुलुक उड्न आउने भारतीयहरूको संख्या बढेपछि एयरलाइन्सहरूलाई भ्याइ–नभ्याई भएको छ । कोभिड–१९ पछि भारत र नेपालले दैनिक एक–एक उडान गर्न पाउने सहमति छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन् । साउदीले नेपालमा भने सीधा उडानमा रोक लगाएको छैन ।
साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । साउदी अरबका होटेललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्ने गरेको अनुमान छ ।
भारतीयहरू नेपाल आएर १४ दिन क्वारेन्टिन बसेर मात्रै साउदी अरबको यात्रामा निस्कने गरेका छन् । जसका कारण नेपालमा बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ हुन थालेका छन् ।
नेपाल र भारत सरकारबीच सम्पन्न भएको एयर बबल एग्रिमेन्टअनुसार दुवै देशबाट एक–एकवटा उडान गर्न पाउँछन् । कुनै पनि देशले आफूले चाहँदैमा उडान संख्या थप गर्न सक्दैनन् ।
दुवैतर्फको उडानमा चाप देखेर नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोरबाट पनि उडान गर्न माग गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल वायुसेवा निगम, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन् ।
भारतबाट साउदी अरबको उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थालेका छन् । त्यसका लागि उनीहरूले दूतावासबाट नो अब्जेक्सन लेटर लिनुपर्छ ।
दूतावासबाट दैनिक ५० जनालाई मात्रै लेटर दिने भए पनि सयाैँको लाइन लागेपछि प्रहरीले भिड हटाउनुपरेको थियो । सोही स्थानको फोटो र भिडियो खिचिरहेका दाहाललाई प्रहरीले किन भिडियो र फोटो खिचेको भन्दै लछारपछार गरेका थिए । प्रहरीले भिडियो र फोटो डिलिट गर्न भन्दै मोबाइलसमेत खोसेका थिए ।
पत्रकार दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, नेपाल प्रेस युनियन काठमाडाैँ शाखालगायतका संघ–संस्थाले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।