काठमाडौँ, ४ मङ्सिर। सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ । सो उद्योग परिसरका प्रभावित स्थानीय बासिन्दा किशोरकुमार विश्वाससहितले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै सो उद्योगको वातावरणनीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गर्दा ध्वनि प्रदूर्षण, साना कणले स्वास्थ्यमा असर परेको जानकारी गराउनुभयो ।
उद्योग सञ्चालनका लागि गोप्य तरिकाले प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङकन बिना नै गल विधि प्रक्रिया र गैरकानूनी रुपमा स्वीकृत र सञ्चालन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
सो उद्योगका कारण भौतिक, जैविक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रहरु प्रभावित भएको, पानीको मुहान सुकेको, श्री नविन शिक्षा निकेतन आधारभूत माध्यामिक विद्यालय पठनपाठन प्रभावित भएको उल्लेख छ ।
स्थानीय प्रतिनिधि किशोरकुमार विश्वासले धुलो, धूँवा, ध्वनि प्रदूषणका कारण बस्न निकै कठिनाइ भएको हुँदा वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र उद्योग सञ्चालन गर्न माग गर्नुभयो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सो उद्योगका बारेमा विस्तृतरुपमा अध्ययन गरेर स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।