काठमाडौँ, १६ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनले सबै जातजाति, समुदाय, धर्म, संस्कृतिको प्रवद्र्धन र विश्व शान्ति स्थापनाका लागि आपसी सद्भाव, सम्मान, सहिष्णुता तथा सहकार्यको भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
विश्व शान्ति र मानवताका लागि हिन्दू, बुद्धिष्ट, क्रिश्चियन, इश्लाम, ज्यूज, सिख, जैन, बहाईलगायतका धर्मबीचको सहकार्य मात्र पर्याप्त नभएकाले सरकार, नागरिक समाज, निजी क्षेत्र, साझेदार निकाय सँगसँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनका क्रममा जारी गरिएको संकल्पमा भनिएको छ, हाम्रा महान् परम्परा र धर्म मानवताको सबैभन्दा उत्तम निधि हुन्, मानवताले नै अँध्यारोबाट उज्यालोतर्फ डोर्याउनसक्ने भएकाले नैतिकवान र असल समाजको जग बसाउन सबै मानव जाति एकताबद्ध हुनुपर्दछ ।
विद्यमान चुनौतीपूर्ण अवस्था, विभाजित मानसिकता, गरीबी, भोकमरी, अन्याय, वातावरणीय विनाश, पारिवारिक विच्छेद, भ्रष्टाचार, द्वन्द्व र हिंसालाई घटाउन धार्मिक जागरण, आपसी सद्भावको प्रवद्र्धन, सम्मान, सहकार्य र सहयोग नै प्रभावकारी हुने निचोड पनि सम्मेलनले निकालेको छ । यसअघि एशिया प्रशान्त क्षेत्रका नागरिक अगुवा एवं धार्मिक नेताहरुले छलफलमा भाग लिँदै आध्यात्मिक चेतनाको वृद्धि नभएसम्म शान्ति र समृद्धि उचाई प्राप्त गर्न कठिन हुने धारणा व्यक्त गरेका थिए ।
सबै धर्मले आपसी विश्वास, सहकार्य र मानवतावादी दृष्टिकोणबाटै शान्ति प्राप्त गर्न सकिने वर्णन गरेकाले त्यसका लागि शान्ति प्रवद्र्धनमा योगदान दिन उहाँहरुले सबैसँग आग्रह गर्नुभयो ।
उक्त सम्मेलनका क्रममा यसअघि सभामुख कृष्णबहादुर महराले अहिलेको समयको चुनौती : शान्ति, विकास, सुशासन र संसद्को भूमिका विषयक सत्रको अध्यक्षता गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, असमान, भेदभाव र दमले समाजमा अशान्ति ल्याउने हुनाले द्वन्द्व अन्त्य गरेर विकास र समृद्धिको यात्रामा नेपाल अघि बढेको छ, लोकतन्त्रको स्थायित्व र सुशासनको प्रवद्र्धनका लागि शान्तिपूर्ण वातावरण आवश्यक छ ।