तत्कालै अर्ली इलेक्सन गर्ने सरकारको कुनै योजना नरहेको मन्त्री खड्काको भनाई

मुख्य समाचार राजनीति समाचार

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणनाका लागि राष्ट्रिय जनगणना आयोगलाई मेकानिजम तयार गर्न सुझाव दिइएको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् । केही दिनअघिमात्रै आयोगका पदाधिकारीहरूसँग आफूले यस विषयमा छलफल गरेको खड्काले बताए । ,‘उसले (आयोगले) जनगणना गर्ने भनेको थियो । आफ्नो तरिकाले उसले एउटा मेथोडोलोजी र मेकानिजममा काम गर्नुस् भनेको छु ।’

उनले वार्ताको वातावरण बनाएर भारतसँगको सीमा विवाद हल गर्ने योजना रहेको बताए । ‘यसबारे अध्ययन भइरहेको छ । अगाडि पठाएका नोटहरू अध्ययन गर्दैछु । वार्ताको वातावरण बनाएर अघि बढ्ने भन्ने छ,’ खड्काले भने । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरे पनि भारतले त्यसलाई मान्यता दिएको छैन । भारतले यस क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

अहिले तत्कालै अर्ली इलेक्सन गर्ने सरकारको कुनै योजना नरहेको मन्त्री खड्काले बताए । उनले सबै दलहरुबीच सहमति जुटेमा चैत, वैशाखसम्म चुनाव हुनसक्ने बताए । ‘तत्कालै अर्ली इलेक्सनको कुरा छैन । तर त्यसखाले वातावरण बन्यो र सबैलाई चुनाव गरौँ भन्ने लाग्यो भने चैत, वैशाखसम्म होला । अहिलेसम्म अर्को वर्ष मङ्सिर मै गर्ने भन्ने छ । तर राजनीतिमा सबै सम्भावनाहरू रहन्छन् ।’ उनले एमसीसी पारित गर्नका लागि पनि दलहरुबीच साझा सहमति आवश्यक रहेको बताए ।

चुनावअघि नै महाधिवेशन

मन्त्री खड्काले चुनावअघि नै नेपाली काँग्रेसको महाधिवेशन सम्पन्न हुने बताए । ‘चुनावअघि नै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाइसक्नु भएको छ । केही जिल्लामा अझै पनि वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । साथीहरू अझै पनि अनशनमै हुनुहुन्छ,’ खड्काले भने,‘त्यो सबै समस्याहरू सम्बोधन गरिसकेपछि चाँडोभन्दा चाँडो महाधिवेशन हुन्छ । मङ्सिरमा हुने सम्भावना देख्दिन । मेरो अनुमानमा पुसको अन्तिम वा माघको पहिलो साता पुग्छ भन्ने लाग्छ ।’

Facebook Comments Box