प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको बिदाइका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि लागि विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले ‘वल्र्ड लिडर समिट’मा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा भाग लिन आउनुभएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुनेछ ।
संयुक्त अधिराज्यमा रहँदा प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँ कात्तिक १६ गते बिहान बेलायतका प्रधानमन्त्री जोनसन र स्कटल्याण्ड सरकारका प्रमुखले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कात्तिक १७ गते स्कटल्याडको इडनबरास्थित रोयल शाही वनस्पति उद्यानको अवलोकन गर्नुहुनेछ भने नेपाली बगैँचामा बिरुवा पनि रोप्नुहुनेछ ।
संयुक्त अधिराज्यमा रहँदा प्रधानमन्त्री देउवाले कात्तिक १३ गते नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यही कात्तिक १४ गते उहाँको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ । उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नु हुनेछ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्छ । उहाँ यही कात्तिक १८ गते स्वदेश फर्र्कनु हुने कार्यक्रम छ ।