सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लि. को दशौं वार्षिक साधारणसभा सन्पन्न

राजनीति समाचार

काठमाडौं । सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका सहकारी विभागका विभागीय प्रमुख नवराज ढकालले पानसमा दीप प्रज्वलन गरेर दशौं वार्षिक साधारणसभाको समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि ढकालले समग्र राष्ट्रिय योगदानमा सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । सहकार्य र सहकारिताको आन्दोलनबाट नै समुन्नत देशको विकास र सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक विकासमा परिवर्तन ल्याउन सकिने उहाँको धारणा थियो ।

राज्यले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सहकारिताको माध्यमबाट पूरा गर्न सकिने प्रमुख अतिथि ढकालको धारणा थियो । सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको दशौं वर्षमा आइपुग्दा संस्थाले सदस्यहरुप्रति पु¥याएको योगदान, सदस्यहरुको संस्थाप्रतिको ममता, साधारणसभामा सदस्यहरुको उपस्थितिले आफै प्रष्ट पारेको बताउनु भयो ।

संस्थाले सदस्यहरुको आयमूलक लगानीका कार्यमा सहयोग गर्दै आगामी दिनहरुमा संस्थामा आवद्ध सदस्यहरुको हित हुने कार्यक्रमहरु ल्याउने कुरामा आफू विश्वस्त रहेको बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथि उच्च अदालत पाटनका रजिष्टार बाबुराम दाहालले संस्थाको प्रगति विवरण हेर्दा संस्था स्थापनादेखि दशौं वर्षमा आइपुग्दा संस्थाले उल्लेख्य प्रगति गर्न सफल रहेको बताउनु भयो । संस्था कुशलतापूर्वक संचालन गर्न संस्थामा आवद्ध संचालक समिति, उपसमिति, सल्लाहकार र सदस्यहरुको महत्वपूर्ण योगदान रहने हुँदा त्यस्ता संस्थाले मात्र प्रगति गर्न सक्ने उहाँको धारणा थियो । संस्थाले संस्था स्थापनादेखि दशौं वर्षसम्म निरन्तर संस्थामा नियमित कारोवार गर्नु हुने २०० जना भन्दा बढी सदस्यहरुलाई २ तोला चाँदीको मेडलसहित सम्मान गरेको थियो । त्यसैगरी असल ऋण कारोवारी सम्मान, उत्कृष्ट बचत कर्ता सम्मान, शेयर सदस्यहरुका छोराछोरीलाई गरेको एसइइ उत्तीर्ण सम्मानले संस्थाको गरिमालाई झन् उचो बनाएको बताउँनु भयो । आगामी दिनहरुमा संस्थाले अझ राम्रा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु ल्याउने विश्वास व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव दिपकप्रसाद चौलागाईंले समष्ठिगत रुपमा संस्थाको कार्य प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको कूल शेयर पूँजी २ करोड पचास लाख रहेको सचिव चौलागाईले बताउनु भयो । संस्थाले आ.ब.२०७४।७५ मा कूल निक्षेप रु. १८ करोड भन्दा बढी गरेको र कर्जा लगानी रु. १२ करोड ५४ लाख रहेको साधारणसभामा सदस्यहरुलाई बताउनुभयो । सदस्यहरुको बचत सदस्यहरुलाई नै आयमूलक क्षेत्रमा लगानी गरी प्राप्त प्रतिफल सदस्यहरुलाई नै वितरण गर्ने संस्थाको उद्देश्य रहेको सचिव चौलागाईंको धारण थियो । संस्था स्थापनाको दशौं वर्ष पूरा गरेको शुभ अवसरमा संस्था स्थापनादेखि निरन्तर संस्थामा कारोवार गर्नु हुने २०० जना शेयर सदस्यहरुलाई २ तोला चाँदीको मेडल सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नियमित ऋण कारोवार गर्नुहुने सदस्यहरुमध्येबाट असल ऋण कारोवारी सदस्य मनबहादुर तामाङलाई नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी नियमित बचत सदस्यतर्फ उत्कृष्ट बचतकर्तामा सदस्य सरस्वती बानियाँलाई नगद र प्रशंसापत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा २०७४ सालको एसइइ परीक्षा उत्तीर्ण हुनुहुने शेयर सदस्यहरुका ८ जना छोराछोरीहरुलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामहरि श्रेष्ठले राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्नु हुँदै संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले संस्थाले आफ्ना सदस्यहरुबाट विश्वास आर्जन गर्दै प्रतिस्पर्धात्मक सहकारी बजारमा संस्थाको कारोवारलाई सदस्यहरुकै आयमूलक तथा व्यवसायिक क्षेत्रमा लगानी बढाउँदै लैजाने संस्थाको लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका ६ नं. वडा कार्यालयका वडा सदस्य नरेन्द्र थापा (भगावन)ले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कामज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मीना श्रेष्ठ, सरस्वतीनगर सुधार संघका प्रतिनिधि लक्ष्मी बानियाँलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरु लगायत उल्लेख्य रुपमा सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको दशौं वार्षिक साधारणसभा नवदुर्गा पार्टी भेन्यू आकाशेधारामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव दिपकप्रसाद चौलागाईंले गर्नु भएको थियो ।

Facebook Comments Box