नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुद्धसिं मार्गको आज अनुगमन गर्नुभएको छ । व्यास नगरपालिका–१ बेलवास हुँदै चितवनको घुमाउनेसम्म जोडिने उक्त मार्गको वरिष्ठ नेता पौडेलले अनुगमन गर्नुभएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कासहितको उपस्थितिमा उक्त मार्गको अनुगमन गर्दै वरिष्ठ नेता पौडेलले बुद्धसिं मार्ग कालोपत्र गर्ने योजनालाई गति दिन आग्रह गर्नुभयो । तनहुँको गौरवको योजनाका रूपमा रहेको यो मार्गमा भएका ढिलासुस्तीबारे गम्भीर भएर सोच्न आग्रह गर्दै उहाँले कामलाई गति दिन अनुरोध गर्नुभयो ।
सङ्घीय सरकारबाट प्रदेश सरकार मातहत आएको बुद्धसिंह मार्ग विगत केही समयदेखि अलपत्र अवस्थामा छ । बजेट अभावका कारण उक्त मार्गको स्तरोन्नतिमा समस्या भएको छ । प्रदेश सरकारमा हस्तान्तरण भएको उक्त सडकका केही ठाउँमा नाला बनाउनेबाहेक अन्य काम हुन सकेको छैन । सडक स्तरोन्नतिका लागि यस वर्ष रु छ करोड बजेट विनियोजन भएको छ ।
उक्त सडक तनहँु सदरमुकाम दमौलीबाट मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेसम्म ३२ किमी दूरीमा पर्छ । जबकि अहिले यात्रा गरिँदै आएको पृथ्वीराजमार्गको दमौली–मुग्लिङ सडक र मुग्लिङदेखि घुमाउनेसम्मको दूरी ५६ किमी छ ।
तनहुँ र चितवन जोड्ने उक्त मार्गको घुमाउनेमा गत वर्षदेखि पक्की पुल निर्माण सुरु भएको छ । विसं २०७५ माघमा सम्झौता भएको पुल निर्माणको काम ढिला गरी सुरु भएको हो । एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत रु आठ करोड २६ लाख रहेको छ । उक्त पुलको पनि वरिष्ठ नेता पौडेलले अनुगमन गर्नुभएको छ ।
पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुईपाङ्ग्रे सवारी साधन आउने जानेगरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।