मुलुकको समृद्धि र विकासका लागि कांग्रेसले जित्नुपर्छ : उपसभापति गुरुङ

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकको समृद्धि र विकास लागि कांग्रेसले जित्नुपर्ने बताउनुभएको छ । कांग्रेस स्याङ्जाले आज सदरमुकाममा आयोजना गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गर्दै उहाँले मुलुकको विकास र समृद्धिका अभियान सञ्चालन गर्न आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । कांग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पु¥याउन अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

अभियानका लागि स्याङ्जामा खटिनुभएका कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्रका आन्तरिक मतान्तरलाई बिर्सेर अब पार्टीलाई थप सशक्त बनाएर अगाडि बढ्नका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कांग्रेसले गरेका राम्रा कार्यहरू नागरिकमाझ पु¥याउन र नकारात्मक टिका टिप्पणी तथा भ्रमलाई चिर्दै नयाँ शिराबाट चुनावी अभियानमा जुट्न नेता पौडेलले नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । अभियानको शुभारम्भका अवसरमा जिल्लाका एघार स्थानीय तह र ९७ वटै वडामा कांग्रेसलाई विजयी बनाउने गरी लाग्नुपर्नेमा जोड दिएको छ । आज शुभारम्भ भएको अभियान चैत २९ गतेसम्म चल्नेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै कांग्रेसले एक महिने चुनावी अभियान थालेको हो ।
–––

Facebook Comments Box