काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीय स्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन्।
बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावना अनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।
‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। गठबन्धन सगै मन वन्धन पनि हुनु आवश्यक छ । मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने। उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन्।
‘प्रत्यक पार्टीको अस्थित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। बैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।
गाउँ-गाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनताहरू एमालेप्रति आजित भएको पाएको उनले बताएका छन्। कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भूल्न नसकेको उनले बताए।
‘अभियानका क्रममा १ लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौं। ओलीले जस्तो एक जना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौं। काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छौं। ओलीको भ्रमको खेती अहिले उदाङ्गो भइसक्यो,’ महरले भने।
दुई तिहाइको सरकार टिकाउन नसकेका ओलीलाई अहिले छटपटी भइरहेको महरको आरोप छ। पछिल्ला अभिव्यक्ति ओलीको त्यति छटपटीको कारक भएको उनले बताए।
‘ओली सरकारले दुई तिहाइ टिकाउन सकेन। कोरोना खोपमा समेत चरम भ्रष्टाचार गर्यो। संसद र संविधानमाथि प्रहार भयो। कांग्रेस त मुलुकलाई दुर्घटना हुनबाट जोगाउन आएको हो। र, स्थानीय तहको निर्वाचन समयमै गर्न प्रतिवद्ध छ,’ उनले भने। उनले केही तत्वले समयमै निर्वाचन नहुने भन्दै भ्रम छरिरहेको प्रति आक्रोस पोखेका छन्।
कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए। देशमा राजनीतिक अस्थिरता नहोस भनेर आफूहरू गठबन्धन गरेर घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए।