यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज आयोजना गरेको सर्वपक्षीय बैठकमा सो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । “कतिपय ठाँउमा आचारसंहिता उल्लङ्घन भएको पनि पाइएको छ, त्यसैले यसलाई पालना गराउने विषयमा जोड दिइएको छ ।’’
सो बैठकमा निर्वाचनमा सहभागी हुने दल र सरोकारवालाको उपस्थिति रहेको थियो । निर्वाचनका लागि बाँकेमा करिब चार हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्लामा १०१ मतदान केन्द्र अति संवेदनशील र ३५ संवेदशील मतदान केन्द्र रहेकाले मतदानस्थल र मतदान केन्द्रको संवेदनशिलताअनुसार सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले एक हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि खटिने बताउनुभयो ।