ललितपुर, २० पुस । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको सङ्ख्या बढ्दै गए पनि गुणस्तर नबढेको बताउनुभयो । धेरै पत्रिका अरु पत्रिकाको हुबहु सारेर चलिरहेको र प्रेस काउन्सिलको वर्गीकरणमा पछाडि परेका पत्रपत्रिकाले अरुको समाचार जस्ताकोतस्तै सारेको पाइएको उहाँले बताउनुभयो । “धेरैलाई अर्काे वर्ष सुधार हुने मौका दिएर पनि वर्गीकरणमा राखिएको हो,” श्रेष्ठले भन्नुभयो ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले मूलधारको पत्रकारितालाई शुद्धीकरण गर्दै लैजान पत्रकार महासङ्घको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महासङ्घका पूर्वमहासचिव ओम शर्माले पत्रकारको गुणात्मक वृद्धिमा महासङ्घ र शाखाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वमहासचिव उजीर मगरले महासङ्घले पत्रकारलाई समस्यामा पर्दा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महासङ्घका उपत्यका संयोजक लेखनाथ न्यौपानेले जिल्लामा क्रियाशील पत्रकारको सङ्ख्या धेरै भएको जिल्लामध्ये ललितपुरसमेत भएको बताउनुभयो । महासङ्घ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले शाखाको आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो ।