लीलाध्वज स्रष्टा सम्मान भारतीलाई

राजनीति समाचार

काठमाडौँ, १३ माघ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ उपन्यासकार शङ्कर भारतीलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा नेपाली साहित्यको विकास र समृद्धिमा योगदान गरेवापत उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा सम्मान प्रदान गर्दै प्रा डा गार्गी शर्माले समाजिक रुपान्तरणका लागि साहित्य सशक्त माध्यम भएको र साहित्यकार हुनका लागि लामो साधना चाहिने विचार व्यक्त गर्नुभयो ।

पूर्वसचिव देवराज रेग्मी, प्रा डा गोविन्दमान सिंह कार्कीलगायतले पुराना स्रष्टाले गरेको योगदानलाई मूल्याङ्कन गरी प्रतिष्ठानले सम्मान गरेकामा त्यसको सराहना गर्नुभयो । सम्मानित भारतीले आफूले उपन्यासकार लीलाध्वज थापाका कृति पढेर उहाँको प्रेरणाबाट उपन्यास लेख्न थालेकोमा अहिले प्रतिष्ठानबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजय थापाले आफ्ना बुबाको नाममा स्थापना भएको उक्त साहित्यिक संस्थाले नेपाली भाषा, साहित्यको विकासमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा मुकुन्द न्यौपाने, भुवन शिवाकोटी, रूद्र अधिकारी, सुन्दरबहादुर खडका, उत्तम विचार, विजयध्वज थापा, माधव घिमिरे अटल, ओमप्रसाद कोइराला, जनार्दन अधिकारी धडकन, धरणीधर गुरागाईं, खेमलाल पोखरेल, शाया मोक्तान थिङ, सुरेशराज वैद्य, कलाधर काफ्ले, कुमार नेपाल, मिशन अधिकारी, विन्दु अधिकारी ढकाल, राधा पाण्डे, कुशुम शर्मा, महेशप्रसाद रिजाल, उषा केसी, अन्जन ढुङ्गानाले आ–आफ्नो कविता तथा रचना वाचन गर्नुभएको थियो ।

Facebook Comments Box