शहीद परिवारलाई सुविधाको माग

राजनीति समाचार

काठमाडौँ, २३ माघ । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सुरक्षाकर्मीतर्फका शहीद परिवारलाई सुविधा र सम्मानको माग गरेको छ ।

द्वन्द्वका क्रममा मारिएका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको भए पनि अन्य शहीद परिवारलाई उपलब्ध गराएको आर्थिक सहयोग, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सुरक्षाकर्मीका परिवारले माग गरेको हो ।

माइतीघरमा आज आयोजित विरोध प्रदर्शनमा द्धन्द्धपीडित सुरक्षाकर्मीको संस्थाका सदस्य नवराज श्रेष्ठले देश र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले द्वन्द्वका क्रममा मृत्युवरण गरेका कारणले सरकारले उनीहरुलाई शहीद घोषणा गरेकामा खुशी व्यक्त गर्दै उनीहरुका परिवारलाई आवश्यक सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।

संस्थाका सदस्य मञ्जु गिरीले शहादतप्राप्त चारै निकायका सुरक्षाकर्मीलाई सरकारले हालै शहीद घोषणा गरेकामा त्यसको स्वागत गर्दै सरकाको उक्त घोषणाले राष्ट्रसेवक योद्धालाई सम्मान भएको र उनीहरूका परिवारलाई हौसला मिलेको बताउनुभयो । उहाँले घाइते, अशक्त सुरक्षाकर्मीलाई अशक्तता प्रतिशतका आधारमा आर्थिक राहत दिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा १० वर्षसम्म भएको द्वन्द्वका क्रममा दुई हजार बढी सुरक्षाकर्मीले शहादत प्राप्त गरेकामा सरकारले केही साता अगाडि उनीहरुलाई शहीद घोषणा गरेको थियो ।

Facebook Comments Box