काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सो पार्टीले आज प्रकाशित एक विज्ञप्तिमा महासचिव वैद्यले स्व श्रेष्ठ माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै उहाँको निधनले स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ । पार्टीका सल्लाहकारसमेत रहनुभएका उहाँको निधनले नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको बताउँदै वैद्यले भन्नुभएको छ –हाम्रो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।
उहाँ मानव मुक्तिको महान् तथा उच्च लक्ष्यमा सम्पूर्ण जीवनको समर्पण गर्नु नै जीवनको सार्थकता रहेको कुरालाई आत्मसात् गरी कम्युनिष्ट आदर्श र सर्वहारा वर्गका पक्षमा उभिनुभएका स्व श्रेष्ठ क्रान्तिकारी कम्युनिष्ट र वर्ग सङ्घर्षका पक्षमा लाग्ने मानिसका निम्ति एक आदर्श व्यक्तित्व हुनुभएका वैद्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा आज दिउँसो १ बजेर ४० मिनट जाँदा आफ्नै निवास शङ्खमूलमा निधन भएको थियो ।