समन्वय बढाउन कांग्रेस जनप्रतिनिधिको सुझाव

प्रशासन मुख्य समाचार राजनीति

भेरीगङ्गा (सुर्खेत), २३ असोज : संविधान कार्यान्वयन गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण भएको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘टक सेन्टर’द्वारा आज आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रमका सहभागीले आ–आफ्नो सुझाव दिएका हुन् ।

तीनै तहका सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उहाँहरुले यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । सो अवसरमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्वकर्ताले नै संविधान कार्यान्वयनमा चासो नदिएको टिप्पणी गर्नुभयो । संविधानमा लेखिएका कुराप्रति सरकार र सदन जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुन नसकेको बताउनुभयो । उहाँले सङ्घीय संरचनाबमोजिम सरकारको साङ्गठनिक संरचना अहिलेसम्म नबन्नु दुःखद् रहेको तर्क गर्नुभयो ।

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन नै सङ्घीय सरकारबाटै फितलो हुँदै आएको टिप्पणी गर्नुभयो । दैलेखको महाबु गाउँपालिकाका कार्यवाहक उपाध्यक्ष मञ्जु शर्माले नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत कुराको प्रत्याभूत गराउन नसक्नु संविधान कार्यान्वयनको फितलो पक्ष रहेको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले संविधानअनुसार सङ्घीयताको सही ढङ्गले कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

नेता निधिले प्रदेश सरकारले पूर्ण अधिकार पाउन नसकेको भन्दै प्रदेश सरकारकै नेतृत्वमा प्रहरी प्रशासन हुनपर्ने बताउनुभयो । अझै केन्द्रीकृत शासन प्रर्णाली लाद्ने कोसिस भइरहेको भन्दै सङ्घीयताको मर्मअनुसार काम गर्नुपर्ने बताउनुभयो । कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएकाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेस हुम्लाको प्रशिक्षण कार्यक्रमका लागि नेता निधि यहाँ आउनुभएको हो ।

Facebook Comments Box