घुस लिएको अभियोगमा पक्राउ

राजनीति समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठले भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको अभियोग छ । आयोगका टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आज पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको आरोप लागेको छ । आयोगका अनुसार गुप्ताले लिएको घुस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको छ । आरोपीद्वयलाई जनही रु एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको छ ।

Facebook Comments Box