‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’

मुख्य समाचार राजनीति समाचार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताउनुभएको छ ।

फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आज आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा उहाँले नागरिकले अनाहकमा दुःख नपाऊन्, निर्दोष नफसून् र पीडक कानूनको दायरामा आऊन् भन्ने अभिप्रायका साथ प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो ।

गत वर्षदेखि लागू भएको नयाँ कानून कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको दाबी गर्दै उहाँले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी सक्षम रहेको बताउनुभयो । उहाँले अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा राख्दै उपलब्ध साधन स्रोतलाई भरपुर प्रयोग गरी गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमहान्यायाधिवक्ता प्राडा युवराज सङ्ग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौँ कि छैनौँ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानूनको विश्वव्यापी मान्यताअनुसार संहिता आएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय तथा सहकार्य गर्दै कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल ल क्याम्पसका प्रमुख डा डिएन पराजुलीले संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Facebook Comments Box