काठमाडौँ, ११ पुस : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान हुनुभएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा हुनुभएको छ ।
उक्त मुद्दामा सात महिना हिरासतमा बस्नुभएका नेता रिजाल धरौटी बुझाएर आज रिहा हुनुभएको हो । उहाँलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहनुभएका उहाँ धरौटी बुझाएपछि आज रिहा हुनुभएको उहाँका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिनुभयो । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । धरौटीको रकम बुझाउन नसक्दा उहाँ आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुप¥यो । गत मङ्सिर १५ मा उहाँलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाउनुभएका उहाँलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उहाँ पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।
शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा हुनुभएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसक्नुभएको छ । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।