नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्छ

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ | २१ भदौ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल भाषा आन्दोलनका एक हस्ती पद्मरत्न तुलाधर कुनै पनि पार्टीको नेताभन्दा उहाँको उचाई धेरै माथि रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानले नेपाल सम्बतलाई मान्यता दिलाउन सङ्घर्षरत् पद्मरत्न तुलाधरको भीम रथारोहणको उपलक्ष्यमा आज आयोजना गरेको ‘नेपाल सम्बतसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपालमा जन्मेको नेपाल सम्बतको नामबाट प्रदेश नं ३ का नाम नेवा–ताम्सालिङ राख्नुपर्ने, नेपालको शान्तिप्रक्रियालाई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता पद्मरत्नलाई राज्यले नेपाल रत्नबाट सुशोभित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको शान्ति प्रक्रिया, भाषा आन्दोलन, मानवअधिकार तथा धेरै क्षेत्रमा पदमरत्न तुलाधरले दिनुभएको योगदानलाई कसैले अवमूल्यन गर्न नसक्ने बताउनुभयो । नेपाल सम्बतलाई थप प्रचारप्रसार गरी जनताको बीचमा लगेर व्यापक पार्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिने र शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिए पनि राज्यले नेपाल सम्बतलाई व्यवहारमा लागू गर्ने तथा यसको संरक्षण गर्नेतर्फ चासो नदिएको गुनासो गर्नभयो । नेपाल सम्बतका लागि लामो सङ्घर्षरत व्यक्तित्व पद्मरत्न तुलाधरले सरकारको उदासिनताका कारण नेपाल सम्बतलाई व्यवहारमा लागू गर्न कठिनाई भइरहेको बताउँदै नेपालमा रहेका विभिन्न सम्बतको अध्ययन गर्नका लागि एउटा नीति बनाउनुपर्नेमा जोड दिनुभयो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्य, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर, पद्मरत्न नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरलगायतले पद्मरत्न तुलाधरको बहुमुखी प्रतिभाप्रति प्रकाश पार्नुभयो ।

Facebook Comments Box