काठमाडौँ, ३२ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेडियोमा आउने नयाँ पुस्ता नवीनतम सोच र फरक योजनासहित आउनुपर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित रेडियो आहाको तेस्रो वार्षिकोत्सवमा उहाँले नयाँ सोच र योजनासहित काम गर्न सके स्रोताले अहिले पनि रेडियो नै खोज्नेमा आफू विश्वस्त रहेको सुनाउनुभयो । “अहिले पनि रेडियोका आफ्नै स्रोता छन् किनकी यसलाई अन्य कामसँगै पनि सुन्न सकिन्छ तर हाल अन्य माध्यमले गर्दा यसलाई केही कठिनाइ भने परिरहेको छ”, महामन्त्री थापाले भन्नुभयो, “सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसबाट अघाएपछि पुनःरेडियोका यी आवाजलाई खोजिन्छ भन्नेमा म ढुक्क छु । यस क्षेत्रमा आउने नयाँ पुस्ताले नयाँ शैलीलाई अपनाउन भने सक्नुपर्छ ।”
विद्यार्थी जीवनमा रेडियो कार्यक्रम चलाएको स्मरण गर्नुहुँदै उहाँले कार्यक्रम बनाउन, अन्तर्वार्ता लिन सहज नभएको आफूले अनुभव गरेको बताउनुभयो । “अहिले हाम्रो १० मिनेटको भाषणलाई १० सेकेण्डको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रयोग गरिन्छ । त्यो १० सेकेण्डको भिडियोमा हामीले भन्न खोजेको तात्पर्य नआउन सक्छ, अनि त्यसकै आधारमा हामीप्रति धारणा निर्माण हुन्छ । यसबाट अहिले धेरै राजनीतिकर्मी धेरै पीडित भएका छौँ । रेडियोमा आफ्ना कुरा निर्धाक्क र पूर्णरुपमा भनिएको मलाई स्मरण छ”, महामन्त्री थापाले अगाडि भन्नुभयो ।
त्यस अवसरमा गीतकार किरण खरेल, सामाजिक अभियन्ता दीक्षा चापागाईं र सञ्चारकर्मी सृजना वाग्लेलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार नीर शाह, गीतकार डा भोला रिजाल, दिनेश अधिकारी, कलाकार मुरलीधरलगायतको उपस्थित रहेको थियो ।