विशिष्ट परिस्थितिमा कांग्रेस र एमालेको सरकार बनेको हो : उपसभापति खड्का

मुख्य समाचार राजनीति

सुदूरपश्चिम, २९ भदौ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देशको विशिष्ट परिस्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभएको छ । राजनीतिक अस्थिरता र जनतामा देखिएको नैराश्यता हटाउन तथा दलहरूबीच बढेको अविश्वास चिर्न कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले भन्नुभयो, “राजनीतिक स्थिरता दिने अभियानसहित गठन भएको अहिलेको सरकारले गर्ने कामका उपलब्धिलाई जनतामाझ पुर्याउँदै पार्टीको सङ्गठनमा लाग्नु जरुरी छ ।”

आपसी असन्तुष्टिलाई मेट्दै एकताको भावनासहित पार्टी सङ्गठनमा लाग्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उपसभापति खड्काले विधि पद्धतिसम्मत तरिकाले पार्टीभित्रका कमी–कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरलगायतले समसामयिक विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम आज सकिएको छ ।

Facebook Comments Box