काठमाडौँ, २३ असोज : रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले यही असोज ३० गतेदेखि दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिनुभयो ।
रेडियो नेपालले दनुवार जागरण समिति लगायतका सरोकारवालाको अनुरोध र भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बागमती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागिएको नायव कार्यकारी निर्देशक चन्द्रभुषण दासले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायत ६२ जिल्लामा दनुवार भाषा बोलिन्छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार दनुवार समुदायको सङ्ख्या ८२ हजार सात सय ८४ छ । दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार छ ।
दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यकासाथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिनुभयो । भाषा आयोगले अतिसीमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हासिल गरेको थप उपलब्धि भएको उहाँले बताउनुभयो ।