काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिनुभएको छ ।
समितिका सभापति एवम् सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिनुभएको हो । उहाँहरूले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेका जोखिम न्यूनीकरणका सम्बन्धमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गर्दै आउनुभएका विचार सराहनीय रहेको बताउनुभएको थियो ।
त्यसअवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरूको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।