विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्छ : अध्यक्ष दाहाल

मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौँ, २७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्ने बताउनुभएको छ ।

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आज आयोजित एकीकृत छात्रावास उद्घाटन एवं चैलिङ नमूना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिनुभएको हो ।

आफू प्रधानमन्त्री हुँदा शैक्षिक सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाएको स्मरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रको सुधारबाटै समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताउनुभयो ।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेको बताउँँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले सङ्घीयता कार्यान्वयनका लागि विभिन्न विधेयक र ऐनहरू बनाउने काममा मेहनत गरेको स्मरण गर्नुभयो ।

Facebook Comments Box