जनकपुर, १५ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । पत्रकारको पेसागत सुरक्षाका लागि रु सात लाखको दुर्घटना बीमा तथा रु एक लाखको स्वास्थ्य बीमाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
जनकपुरधाममा आज आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेश समितिको कार्यालय भवन निर्माण गर्न चालु आर्थिक वर्षमा रु ८० लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले १० दिनभित्रमा नै गुठी विधेयक ल्याउन लागेको उल्लेख गर्दै प्रदेश सरकारले एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्र सडक तथा एक पक्की पुल निर्माण गर्न बोलपत्र आह्वान गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेश सरकारले मधेसी जनताको भावनाअनुसार काम गरिरहेको र प्रदेशमा एक पटक सवारीसाधन दर्ता गरेपछि १५ वर्षसम्म कर नलाग्ने गरी विधेयक पारित गरेको जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गर्नुभयो । निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।