‘मेलमिलापको नीति प्रभावकारी रूपमा व्यवहारमा उतारौँ’

मुख्य समाचार राजनीति

चितवन, १६ पुस : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मेलमिलापको नीति व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं १ (क) को आयोजनामा आज पूर्वी चितवतनमा आयोजित राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता र अवको बाटो विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै नेता डा कोइरालाले मेरो र तेरो नभनि मेलमिलापको नीतिबाट हिँड्न सकेमा कांग्रेसलाई हराउने बल कसैले राख्न नसक्ने बताउनुभयो ।

पार्टीभित्र आपसी मेलमिलाप र एकताको खाँचो रहेको नेता डा कोइरालाको भनाइ थियो । देश र जनताप्रति लगाव भए मात्रै मेलमिलापको नीति सम्भव हुने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय टेकप्रसाद गुरूङ र गुरूराज घिमिरेले पार्टीका शीर्ष नेताहरूले आफ्नो स्वार्थलाई केन्द्रमा राख्न छोडे मात्रै एकता र मेलमिलाप दुबै कायम भएर बलियो शक्तिका रूपमा पार्टी स्थापित हुने बताउनुभयो । लोकतन्त्र र राजनीति बिचको एकता अहिलेको आवश्यकता रहेको उहाँहरूले बताउनुभयो । राजनीतिमा मेलमिलापले लोकतन्त्रको भविष्य सुनिश्चित हुने उहाँहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाली कांग्रेस चितवनका नेता कमल आचार्य, उत्तम आचार्य, शम्भू अर्याल, निता ढकाल, भरत खनाल र गणेश मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, नेपाली कांग्रेस चितवनको क्षेत्र नं १ (क) का क्षेत्रीय सभापति गोविन्द गौतमलगायतले नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्न नसक्दा देशमा अहिलेको अवस्था आएको बताउनुभयो ।

Facebook Comments Box