लोकतान्त्रिक विधिबाट वर्ष दिनलाई अगुवा छनोट गरी मनाइयो माघी

मनोरन्जन राजनीति समाचार

काठमाडौँ, १ माघः थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको लोकतान्त्रिक विधिबाट चयन गरी मीठो मसिनो खाएर माघी पर्व मनाएका छन् ।

थारु समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यता भएकाले माघीकै दिन अर्थात् माघ १ गते नेतृत्व छान्ने परम्परा रही आएको छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारु समुदायले पनि आज यो पर्व विशेष रुपमा मनाएका छन् ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपान गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छे अनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा मनाइन्छ । थारु समुदायमा प्राचीकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रुपमा लिने गरिन्छ । माघ १ गते नै यो अभ्यास हुने प्राचीन कालदेखिकै परम्परा छ ।

मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रुपमा माघी पर्व मनाएका छन् । यस अवसरमा राजधानीको टुँडिखेल र खुलामञ्चमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । राति अबेरसम्म मौलिक सांस्कृतिक कार्यक्रम गरी थारु, मगर र छन्त्याल समुदायका मानिसले माघी पर्व मनाएका छन् ।

Facebook Comments Box