लेखनाथ (कास्की), २६ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरू सुशासन र जनताप्रति उत्तरदायी नहुँदा नेपाली जनतामा राजनीतिक निराशा पैदा भएको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष नेपालले भन्नुभयो, “अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन, आशा र उत्साह लिएर जान जरुरी छ, यसो गर्न नसकिए राजनीतिक दलहरूप्रति जनताको निराशा झनै बढ्ने छ ।”
एकीकृत समाजवादी आफ्नो सिद्धान्त, सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्ने पार्टी भएकाले यसले नेकपा (एमाले) र (माओवादी केन्द्र) सँग पार्टी एकता नगर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छाँै, विचार मिल्ने पार्टीसँग एकता र सहकार्य गरेर जान्छाँै ।”
वर्तमान सरकारले ल्याएको अध्याधेशको विरोध गर्दैै अध्यक्ष नेपालले उक्त अध्याधेश जनताको हितमा नरहेको बताउनुभयो । उक्त अध्यादेश संविधान संशोधन गर्नभन्दा पनि ठूला पार्टीको हित र स्वार्थमा ल्याइएको उहाँको आरोप छ । एकीकृत समाजवादीले अब जनतामाझ आशा र उत्साह जगाउने कार्यक्रम लिएर जाने उहाँले बताउनुभयो ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०६२÷६३ सालको परिवर्तबाट निर्माण गरेको संविधानमा चाहेजति उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । नेपाली जनताको जीवनस्तर उकास्न वैज्ञानिक ढङ्गबाट भूमिसुधार, कृषि क्रान्ति र औद्योगिकीकरण हुन आवश्यक भएको उहाँको भनाइ थियो ।
यस्तै, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले देशमा मौलाएको भ्रष्टाचारको जालो नियन्त्रण गर्न नसकिए यसले ठूलो रुप लिँदै जाने बताउनुभयो । पार्टीका महासचिव घनश्याम भुसालले देशको अर्थतन्त्र खोक्रो हुँदै गएकाले बेलैमा सचेत हुन सरकारसँग आग्रह गर्नुभयो ।