सांसद तामाङको भनाई प्रति श्रेष्ठको आपत्ति

प्रशासन राजनीति समाचार

विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले सांसद हितबहादुर तामाङले सोमबार संसद् बैठकमा क्याम्पसको विषयमा उठाएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

माओवादीका तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद तामाङले क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट विधान स्वीकृति विनानै कसैको दबाब र प्रभावमा सञ्चालन भएको र नियुक्तिहरु भइरहेको विषयमा संसदमा भनाई राखेका थिए । उक्त भनाई प्रति आपत्ति जनाउँदै क्याम्पस सञ्चालन समितिका तर्फबाट अध्यक्ष श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत् सांसद तामाङले उठाएको विषय भ्रामक र सत्य नभएको बतएका हुन् । सांसद तामाङले उल्लेख गरेजस्तो विधान विपरित नभएर क्याम्पस त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेको विधान सम्वत् रुपमा सञ्चालन भइरहेको स्पष्ट पारेका छन् ।

क्याम्पसको विधान २०७७ अनुसार क्याम्पस सञ्चालन समितिको पदावधि ३ वर्षको हुने प्रावधान रहेकोले मिति २०८१ माघ १९ गते मौजुदा क्यम्पस सञ्चालक समितिको पदावधि समाप्त भएको अवस्थामा क्याम्पसको संशोधित विधान २०७७ बमोजिम विधिवत रुपमा नयाँ कार्यसमिति निर्वाचित भइ क्याप्पसका गतिविधिहरु अगाडि बढिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा क्याम्पसको विधान त्रिवि कार्यकारी परिषद्को मिति २०७८÷४÷३१ को निर्णय नं ९८१ अनुसार पेश गरिएको विधान स्वीकृत गरेको व्यहोरा सहितको त्रिवि योजना निर्देशनालयको पत्रको व्यहोरा समेत उल्लेख गर्दै सांसद् तामाङले भनेजस्तो विधान त्रिविले स्वीकृत नगरेको भन्ने भनाइको खण्डन समेत गरिएको छ ।

अध्यक्ष श्रेष्ठले सांसद तामाङले गरिमामय ससद्मा स्पष्ट रुप्मा क्याम्पसको विधान र नियम बमोजिम वर्तमान निर्णय र कार्यहरुलाई मुल्यांकन नगरी यथेष्ट जानकारी विनानै एक पक्षीय रुपमा पुर्वाग्रही ढंगबाट संसद् बैठकमा विषय उठाएर क्याम्पसको बदनामी गराउ खोजेको बताए । अध्यक्ष श्रेष्ठले क्याम्पस त्रिवबाट स्वीकृति भएको विधान बमोजिम विधि र नियम संगत रुपमा सञ्चालन हुने र क्याम्पस स्वायत्त सस्था भएकाले कसैको दबाब, प्रभाव, धाक धम्कीबाट नभएर स्वतन्त्र पूर्वक विधिसंवत् रुपमा संचालन हुने स्पष्ट पारेका छन् ।

Facebook Comments Box