संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

मुख्य समाचार राजनीति

लेखनाथ (कास्की), १० फागुनः नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभाग र नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनमा अप्ठ्यारो अवस्था आएमा सहमतिका आधारमा संशोधन गरेर बाधा फुकाउनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले संविधान जारी भएको नौ वर्ष बितिसकेको र समय अनुकूल संशोधन गर्दै जानुपर्ने धारणा राख्नुभयो । सङ्घीयता विकेन्द्रीकृत शासन व्यवस्था भएको भन्दै सङ्घीयता लागू भएको नौ वर्ष बितिसक्दा पनि केन्द्रीकृत शासन व्यवस्था हट्न नसकेको भनाइ उहाँको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसँग सम्बन्धित कानुन बन्न नसक्दा सरकार सञ्चालनमा कठिनाइ आएको बताउनुभयो । संविधान कार्यान्वयनमा चुनौतीहरू धेरै रहेका बताउँदै सङ्घीयता संविधानमा व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयनमा नआउँदा समस्या आएका उहाँको भनाइ छ ।

“संविधानद्वारा प्रदेशलाई दिइएका अधिकार छिटो कार्यान्वयनमा जानुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सबै पार्टीको सहयोग र सहमतिका आधारमा संविधान संशोधन गरी अगाडि बढ्न जरुरी छ ।” प्रदेशका कानुन लामो समयसम्म बन्न नसक्दा आम जनताले सङ्घीयतामाथि प्रश्न उठाउन थालेका बताउँदै नेपाली जनतालाई सिंहदरबारको अधिकार भन्ने तर कानुन बाधक बनिरहनु भएन उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यही अवस्थामा वर्तमान संविधान चलायमान हुन नसक्ने बताउँदै संविधान संशोधन अत्यावश्यक भएको औँल्याउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, संविधानविद् राधेश्याम अधिकारी कपिलमणि दाहाल, कृष्णप्रसाद तिमिल्सिना, बिनिता नेपाली, सीताराम केसीलगायतले संविधान संशोधनका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

संविधानविद् राधेश्याम अधिकारी र कपिलमणि दाहालले संविधान संशोधनः आवश्यकता र चुनौती तथा संविधानमा सुधार गर्नुपर्ने बुँदाका बारेमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागका प्रमुख डा डिला सङ्ग्रौलाले उक्त कार्यक्रमको सभापतित्व गर्नुभएको थियो ।

Facebook Comments Box