सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः अध्यक्ष नेपाल

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ, १८ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण गरी समाजमा आर्थिक गतिविधि सञ्चालन र त्यसले मुलुकमा समाजवादी क्रान्ति पूरा गर्न सहयोग पुर्याउने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको विकास र आयात प्रतिस्थापनले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने बताउनुभयो । उहाँले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले देशमा अस्थिरता, भ्रष्टाचार, दण्डहीनता मौलाएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले उक्त प्रदेशको नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज डा गङ्गालाल तुलाधर, सचिव सावित्रा भुसाल, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत नेताको सहभागिता रहेको थियो ।

Facebook Comments Box