काठमाडौँ, २१ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको सुखानी जङ्गलमा हत्या गरिएका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा सुखानीमा हत्या गरिएका सहिदको तस्बिर राख्दै उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘झापा आन्दोलनका निहत्था योद्धाहरूलाई निरङ्कुश पञ्चायती शासकद्वारा आजकै दिन सुखानीको जङ्गलमा हत्या गरिएको थियो । जनताको मुक्तिका लागि बलिदान दिने अमर सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको साहस तथा बलिदानलाई नमन गर्दछु ।’
विसं २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा आन्दोलनका अगुवा दाहाल, घिमिरे, राजवंशी, कुइँकेल र श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएको थियो ।
Facebook Comments Box