देश विकासमा महिलाको योगदान महत्त्वपूर्ण छ : प्रवक्ता डा महत

मुख्य समाचार राजनीति समाचार

खोटाङ, २४ फागुन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकासमा महिलाको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देश विकासमा महिलाले खेलेको भूमिकाको उच्च कदर गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता डा महतले राजनीतिमा महिलाको सहभागिता ५० प्रतिशत पुर्याउनुपर्ने बताउनुभयो । “महिला जागरुक छन्, सक्रिय छन् । जिम्मेवारी पाउनेबित्तिकै पूरा गर्छन्”, उहाँले भन्नुभयो, “महिला सशक्तीकरणको पक्षमा हाम्रो पार्टीले अभियान चलाएको छ । आगामी दिनमा महिलालाई राजनीतिक, आर्थिक, रोजगारी र सामाजिक काममा बराबरी सहभागिता गराउने योजना बनाएका छौँ ।”

पछिल्लो समय रोजगारीका लागि युवा परदेश गएकाले गाउँघरसँगै समग्र देश नै महिलाले धान्नुपर्ने अवस्था रहेको प्रवक्ता डा महतले बताउनुभयो । अन्तरराष्ट्रिय महिला दिवसले नेपाली महिला सशक्तीकरणमा थप योगदान पुगेको उहाँको भनाइ थियो ।

यसैबीच अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले जिल्लामा क्रियाशील दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिताका माध्यमबाट नगरपालिकाको समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सविना अछामे र राजकुमार भट्टराईलाई जनही रु २५ हजारसहित सम्मानित गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

Facebook Comments Box